बेलबारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

न्युजलय १८ फाल्गुण २०८०, शुक्रबार १२:०५ मा प्रकाशित

मोरङ । मोरङको बेलबारी नगरपालिका १ र ३ को सिमानामा शुक्रबार(आज) बिहान भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटना झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका ४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको न्यूरो अस्पतालमा मृत्यु भएको हो । गजुरेल बोलेरो चालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने खनाल र भट्टराई बोलेरमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका कमल गाउँपालिका ४ का ४६ वर्षीय हरि खनाल र कमल २ की ४८ वर्षीया गायत्री भट्टराईको न्यूरो अस्पतालमै उपचार भइरहेको बताइएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको थियो ।

प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस चालक सुन्दरहरैँचा १२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।