६ अर्ब रुपैयाँ बैंक फर्कियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

न्युजलय २७ बैशाख २०७९, मङ्गलबार ०६:५१ मा प्रकाशित

काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ ।

निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । बैंकको सीडी रेसियोमा पनि सुधार भएको छ । हाल सबै बैंकको औसत सीडी रेसियो ९०.५२ प्रतिशत छ । ९० भन्दा माथि पुगेका बैंकहरू थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामै छन्, जसले गर्दा समग्र कर्जा प्रवाहमा शिथिलता देखिएको छ ।

बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक सातामा निक्षेप ५ अर्बले वृद्धि भएको छ भने कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ । वैशाख १६ गते ४३ खर्ब ६८ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप वैशाख २३ गते ४३ खर्ब ७३ अर्ब पुगेको छ । यसैगरी वैशाख १६ गते ४१ खर्ब ९७ अर्ब रहेको कर्जा लगानी २३ गते ४१ खर्ब ९३ अर्ब रुपैयाँमा सीमित भएको छ ।

गत चैतको अन्तिम सातादेखि निरन्तर रूपमा घट्न थाले निक्षेप चुनाव नजिकिएसँगै वाणिज्य बैंकहरूमा निक्षेप आउन थालेको हो । नेपाल बैंकर्स संघका अनुसार वैशाखको चौंथो सातामा ६ अर्ब रुपैयाँ नेपाली मुद्रामा बचत भएको छ । 

निर्वाचनका लागि बैंकिङ च्यानलमा आएको रकम बाहिर जाँदै पुनः खर्च भएर बैंकमा आउन थालेको बैंकहरूको बुझाइ छ ।