झापा । सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो।
बचतकर्ता र शेयर सदस्यको झन्डै डेढ करोड रुपियाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपियाँ ठगी गरेको देखिएको छ। पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन्।
कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।