साफ यू–१७ च्याम्पियनसिपमा नेपाली किशोरी टोलीको पहिलो जित

न्युजलय ९ चैत २०७९, बिहिबार ०१:५३ मा प्रकाशित

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाली किशोरी टोलीले पहिलो जित हात पारेको छ। नेपालले आफ्नो दोस्रो खेलमा भुटानलाई ५–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा सुरुवातबाटै हावी भएको नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप २ गोल गरेको थियो। नेपालको जितमा वर्षा ओली र सेनु परियारले समान २–२ गोल गर्दा अर्को एक गोल दीपा रोकायाले गरेकी थिइन। जितसँगै नेपालले २ खेलबाट ३ अङ्क जोड्दै अङ्क तालिकामा खाता खोलेको छ। पराजित भुटान भने अङ्क बिहीन रहेको छ।

यसअघि नेपालले सोमबार भएको पहिलो खेलमा भारतसँग ४(१ को हार भोगेको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा भुटानलाई बंगलादेशले ८–१ गोल अन्तरले हराएको थियो। प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ। अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ।