खेलाडीलाई पाँच महिनदेखि तलब नदिने एन्फाले पदाधिकारीको तलब बढायो

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार ०१:०६ मा प्रकाशित

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पदाधिकारीहरुको तलब वृद्धि गरेको छ । एन्फाले तीन सह–महासचिवको तलब २५ हजार रुपैयाँ बढाएको छ । 


यसअघि एन्फाले तीन सह–महासचिव बद्री भट्टराई, अरुणमान जोशी र वसन्त अर्याललाई ५० हजार रुपैयाँ प्रतिमहिना प्रदान गरेको थियो । अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले उनीहरूको प्रतिमहिनाको तलबमा २५ हजार वृद्धि गरेको हो । 


यसैगरी, एन्फा प्रवक्ता सुरेश शाहलाई ६२ हजार र सहकोषाध्यक्ष पूर्णमान चित्रकारलाई ३५ हजार मासिक तलब दिने एन्फाले निर्णय गरेको छ । एन्फाका महासचिव किरण राई धेरै तलब थाप्नेमा पर्छन् । उनको मासिक तलब एक लाख २० हजार रुपैयाँ छ । त्यसपछि प्रशासनिक रूपमा कार्यरत कोषाध्यक्ष रवीन्द्र जोशीले प्रतिमहिना ९५ हजार रुपैयाँ लिने गर्छन् ।


पदाधिकारीको तलब र सेवासुविधा बढाएसँगै एन्फाको आलोचना चुलिएको छ । खेलाडीलाई दिने भनिएको घोषित पुरस्कार, पारिश्रमिक र भत्ता दिन नसकेको एन्फाले पदाधिकारीहरुको भने तलबवृद्धि गर्नु सही नभएको खेलाडी तथा खेलप्रेमीहरुले बताएका छन् । 


खेलाडीहरूले पछिल्लो पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । राष्ट्रिय फुटबल टोलीका पुरुष र महिला खेलाडीले पाँच महिनादेखि तलब नपाएका हुन् । उनीहरूको मासिक तलब समान १८ हजार रुपैयाँ छ ।


यसैगरी खेलाडीले एक वर्षदेखिको अभ्यास भत्ता र म्याच फी पाएका छैनन् । सन् २०१७ को यू–१८ साफ च्याम्पियनसिप उपाधि जित्दा एन्फाले घोषणा गरेको दुई लाखमध्ये एक लाख पुरस्कार मात्र खेलाडीलाई दिएको छ । दक्षिण एसियाली खेकलुद (साग)मा स्वर्ण पदक जित्दा घोषित पुरस्कार, महिला टोलीले साफ उपविजेता हुँदा, थ्री नेसन्स कप जित्दाको घोषित पुरस्कार रकम खेलाडीले अहिलेसम्म पाएका छैनन् । खेलाडीले मात्र नभएर रेफ्रीले समेत एन्फाबाट विगत पाँच महिनादेखि पारिश्रमिक नपाएको जनाएका छन् ।