काठमाडौं । कृषिप्रधान भएर पनि कृषिमै परनिर्भर नेपालमा वार्षिक ८ अर्बको आलु नेपाल भित्रिने गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार यसरी आउनेमध्ये बिउ, ताजा वा चिसो, सुकेको आलुको पिठो, गोली र फ्रेन्च फ्राईलगायत छन् ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६र७७ देखि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा १८ देशबाट आलु आयात भएको छ। नेपालमा आउने आलुको सबैभन्दा बढी हिस्सा भारतले ओगटेको छ। त्यसपछि बढी बंगलादेशबाट भित्रिने गरेको छ।
विभागका अनुसार सवा तीन वर्षमा नेपालमा २३ अर्ब नौ करोड ७४ लाख ५३ हजार रुपैयाँको आलु आएको छ। जसमध्ये १७ अर्ब २८ करोड ४५ लाख ७२ हजारको आलु भारतबाट आयात भएको हो।
सबैभन्दा बढी आयात हुने तरकारीमध्ये आलु र प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ देखि चार वर्षका लागि संघीय सरकारको मातहतमा रहने गरी आलु र प्याजतर्फ मिसन कार्यक्रम गरिरहेको छ। तर, उत्पादनले माग धान्ने अवस्था भने छैन।