शिवलाई गलत रूपमा प्रयोग गरेको भन्दै आलोचना भएपछि माग्ने बुढाले मागे माफी

न्युजलय १६ साउन २०७९, सोमबार ०२:५६ मा प्रकाशित

काठमाण्डौ । भगवान् शिवलाई गलत रूपमा प्रयोग गरेको भन्दै आलोचना भएपछि निर्देशक केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले माफी मागेका छन्।

टेलिभिजन शो कमेडी हब को १० औं भागको ट्रेलरमा भगवान् शिवलाई युवतीसँग मस्किएको देखाइएको थियो। ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। 

आलोचना भएपछि निर्देशक घिमिरेले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्। उनले कमेडी हबबाट शिवको दृश्य हटाएको बताएका छन्।

कार्यक्रममा केदारप्रसाद घिमिरेसँगै राजा राजेन्द्र, हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर (खबपु), चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल (प्याकुली), राधिका कँडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली ९लट्टे०, कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गरिरहेका छन्।