कोरियामा सवारी दुर्घटना परेर एक नेपालीको मृत्‍यु

न्युजलय १८ साउन २०७९, बुधबार ०९:१३ मा प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।


मंगलबार कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा सवारी दुर्घटना हुँदा सुर्खेतका जीवन मगरको मृत्यु भएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिएका छन् ।

 

मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया गएका थिए । गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको उनका सहकर्मीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिए ।


साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनीहरुले बताए ।

 

घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको गुरुङले बताए ।