काठमाडौं । इन्धनको भाउ फेरी बढ्ने भएको छ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसन लिमिटेडले इन्धनको मूल्य बढाएर पठाएको छ ।
जुन १६ तारिख (बिहीबार) प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको निगमले जनाएको छ ।
रुस–युक्रेन युद्ध जारी रहिरहेका बेला पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इण्डियन आयल कर्पोरेसनले बढेको मूल्यसहित नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
एलपी ग्याँसको खरिद लागत यथावत छ । तर, जुन १ को लागत र हालको बिक्री मूल्य प्रति सिलिन्डर १८०० बिक्री मूल्यअनुसार निमगलाई प्रति सिलिन्डर ७५१ रुपैयाँ १४ पैसा घाटामा रहेको जनाइएको छ ।
नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्व ६३ करोड पुग्ने अवस्था रहेको निगमले जनाएको छ ।