काठमाडौं । जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। छ महिनाअघि जापान पढ्न गएका धनकुटाका अनिश कटुवालको मृत्यु भएको हो।
घटना अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भ भएको दिनको (पुस १७ गतेको) हो। उनी आफ्नै कोठामा मृत फेला परेका थिए।
कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने भाडा)मा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन्।
उनको शव अस्पतालमा राखिएको छ। घटनाबारे अनिशका परिवारका सदस्यहरूलाई जानकारी गराइसकिएको छ।
२७ वर्षका अनिश टोकियोस्थित इकेबुकुरोमा बस्दै आएका थिए भने उनले ताकाराजुका भाषा विद्यालयमा पढ्दै आएका थिए।
उनको मृत्युको कारण खुलिसकेको छैन। पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने बताइएको छ।