धरानमा विमानस्थल निर्माण सम्भव नभएको प्राधिकरणको निष्कर्ष

न्युजलय १५ फाल्गुण २०८०, मङ्गलबार ०३:१३ मा प्रकाशित

काठमाडौँ । धरानमा विमानस्थल निर्माण सम्भव नभएको निष्कर्ष  नेपाल नागरिक उड्डयन प्राधिकरणले निकालेको छ। विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरान उपमहानगरमा प्राविधिक कारण सम्भव नभएको निष्कर्ष निकालेको हो। 

विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाइ नीति २०६३ विपरीत हुने उल्लेख छ। 

तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणले जनाएको छ। 

आर्थिक विश्लेषणपश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्रै सम्भव हुँदा हवाइ यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको देखिएको छ। 

धरान उपमहानगरका प्रमुख हर्क साङपाङले धरानमा विमानस्थल बनाउन माग गरेसँगै प्राधिकरणले अध्ययन समिति बनाएको थियो।