इटहरीमा बहुला कुकुरको आतंक, साउनयता ८ पशु मरे

न्युजलय १३ भदौ २०८१, बिहिबार ०७:२६ मा प्रकाशित

इटहरी । इटहरीमा बहुला कुकुरको आतंक छाएको छ । विगत पाँच सातामा रेबिज लागेर ८ वटा पशु मरेका छन् भने चार दर्जन पशु र तीन जना मानिस घाइते भएका छन् । घर, आँगन तथा गोठमा पसेर दुहुना पशुका साथै मानिसलाई आक्रमण गरेर कुकुरले टोक्न थालेपछि आतंक छाएको हो । 


गत साउन ७ गते पहिलो पटक कुकुर आतंक देखिएको थियो । कुकुरको टोकाइबाट इटहरीको वडा नं. १, २, ५ र २० मा गरी ४२ भन्दा बढी पशु तथा मानिस घाइते भएका छन् । तीमध्ये वडा नं. १ मा ३ वटा, २ मा ४ वटा र ५ मा एउटा पशु मरेको इटहरी उपमहानगरपालिकाका पशु शाखाका पशु चिकित्सक दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । टोकेको थाहा भएका वा शंका भएका पशुहरुलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइएको उनले बताए ।


गत ८ गते इटहरी वडा नं. २ मा एक जना ६ वर्षिया बालिकालाई कुकरले मुखमै नराम्रोसँग टोकिदिएको थियो । उनलाई कोशी अञ्चल अस्पताल रेफर गरिएको थियो । अहिले उनको उपचार भइरहेको छ । 


पशु तथा मानिसलाई टोक्दै हिड्ने दुई वटा बहुला कुकुरको पहिचान भएकोमा एउटा भने मरेको उनले बताए । अर्को एउटा कुकुरको खोजी भइरहेको र उक्त कुकुरको सम्पर्कमा आएको शंका लागेका भुस्याहा कुकुरहरुलाई समातेर भ्याक्सिन लगाउने काम भइरहेको उनले जानकारी दिए । यो कार्यमा इटहरीको बुल्स ११ क्लबले सहयोग गरिरहेको उनले बताए ।


भुस्याहा कुकुरलाई नियन्त्रण गर्नका लागि उपमहानगरपालिका बन्ध्याकरण गराउँदै आएको थियो । दुई वर्षमा एक हजार दुई सय कुकुरको बन्ध्याकरण गरिएकोमा गत वर्ष भने कार्यक्रम रोकिएको थियो । ‘बहुला कुकुरको आतंक सुरु भएपछि अहिले भने मेयरसाबले पनि चासो लिनुभएको छ र बन्ध्याकरणका साथै भ्याक्सिनेसन अघि बढाउन भन्नुभएको छ,’ उनले भने ।


उनका अनुसार कतिपय पशुलाई टोकेको थाहा नपाइने र पछि लक्षण देखिन सुरु हुँदा ढिलो भएर मर्ने गरेका छन् । ‘त्यस्तै कतिपयमा भने रेबिज भाइरसको संख्या ज्यादा पुगी र प्रतिरक्षा प्रणाली कमजोर भएर पनि पशुहरु मर्ने गरेका छन्,’ उनले भने ।


तीन जना मानिसलाई टोकेपनि पशुको संसर्गमा आएका अरु धेरै मानिसहरुले भ्याक्सिन लिइरहेको उनले बताए । उनका अनुसार र्याल, रगतआदिको संसर्गबाट रेबिज सर्न सक्छ । तर रेबिज भएका पशुको दुधबाट रेबिज सरेको अहिलेसम्म नपाइएकोले आत्तिनु नपर्ने उनले बताए । उनले एक्लै दुक्लै नहिड्न र बालबालिकाहरुलाई पनि हिड्न नदिन आग्रह गरेका छन् । ‘त्यस्तै कुनै कुकुर वा पशुमा रेबिजका लक्षणहरु देखिए भने उपमहानगरपालिका वा जनप्रतिनिधिहरु, कर्मचारीहरुलाई जानकारी गराइदिन अनुरोध छ,’ उनले भने । 


रेबिजबाट बच्न सकिन्छ, थाहा हुने बित्तिकै भ्याक्सिन सुरु गर्दा रोगबाट बच्न सकिन्छ । तर लक्षण देखिन थालेपछि भने उपचार सम्भव छैन । त्यसैले रेबिज लागेको शंका लागेका कुकुर र पशुहरुबाट टाढा रहनु उत्तम हुन्छ । 


कुकुरमा रेबीजको लक्षणः

यस रोगबाट प्रभावित कुकुरहरुको व्यवहारमा परिवर्तन आउँछ । यिनमा दुई प्रकारको लक्षण पाइन्छ । केही कुकुरले मौन अवस्था देखाउँछन्, लोसे हुन्छन् एकतीर कुनामा लुकेर बस्दछन्, पछाडीको भागमा पक्षघात हुन्छ र केहि दिन पछि मृत्यु हुन्छ । दोश्रो अवस्था उग्र अवस्था हुन्छ । जस्मा रोगी कुकुर रिसाहा हुन्छ साङगलो काठ ढुङ्गा, ईट पर्खाल जथाभावी टोक्ने गर्छ । कुकुर खतरनाक भएर जान्छ र जथाभावी टोकन, थाल्दछ । बहुला कुकुर र्याल चुहाउँदै यता उता भौतारिन थाल्दछ । बिस्तारै पछिल्लो भागबाट पशघात हुन थाल्दछ । पानी निल्न सतैन तर्सिन्छ । उस्को आवाज फरक भएर जान्छ । रोगी कुकुरको लक्षण देखिएको १० दिन भित्र मृत्यु हुन्छ ।



अरु पशुमा रेबीजको लक्षणः

बिरालोमा रेबीजको उग्र अवस्था देखिन्छ। रेबीज ग्रस्त बिरालोले हावामा पंजा मार्न थाल्दछ, लाग्दछ कि मुसा च्यापन खोज्दै छ। अन्य पशुहरु जस्तो कि गाई भैंसी भेडा बाख्रा उंट आदिमा पनि रोग यस्तै प्रकारको हुन्छ। तर पानी संग भने डराउंदैन। गाईहरुको मुखमा ¥याल फिज जस्तो टासिन्छ। तीनको पछाडिको खुट्टाहरु कमजोर हुन्छ। गाइ धेरै कराउंछ तर उसको आवाज बदलिन्छ। रोगी पशुले पर्खाल रुखमा टाउको बजारछ। अन्य पशुमा पनि यस्तै लक्षण देखिन्छ।