काठमाडौं । विश्वकप २०२२ को एक सय दिनको काउनडाउन औपचारिक रूपमा घोषणा गर्दै फिफा र कतारले उद्घाटन मिति र उद्घाटन खेल तालिकामा हेरफेर गरेका छन् ।
फिफा र कतारले समर्थक, प्रायोजक र प्रसारकका लागि सहयोगी हुने भन्दै पूर्वनिर्धारित तालिकामा परिवर्तन गरेको हो। नयाँ तालिकासँगै आयोजक कतार र इक्वेडरबीचको खेल पूर्वनिर्धारित तालिका भन्दा २४ घन्टा अघि आयोजना हुने भएको छ।
फिफाले बिगतमा पनि आयोजक राष्ट्रको खेल उद्घाटन सामारोह लगत्तै राखिने परम्परा भएकाले त्यसलाई निरन्तरता दिएको जनाएको छ। फिफाले भने अध्यक्ष जियानी इन्फान्टिनो र ६ महादेशका फुटबल प्रमुखको छलफलपछि सो निर्णय लिएको बताएको छ।
पूर्वनिर्धारित तालिकाअनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा हुने तय थियो। यसअघि नोभेम्बर २० मा सेनेगल र नेदरल्यान्ड्सविरुद्ध उद्घाटन खेल हुने तालिका रहेको थियो।
नयाँ तालिकाअनुसार समूह ‘ए’अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीचको खेल नोभेम्बर २१ मा हुनेछ। फिफाले तालिका परिवर्तन भए पनि उद्घाटन खेलको टिकट किनेका समर्थकमाथि त्यसको कुनै असर नपर्ने बताएको छ।