नेपालमा पनि ‘टोमाटो फ्लू’को जोखिम बढ्दै

न्युजलय १७ भदौ २०७९, शुक्रबार ०८:३८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लू’ को जोखिम नेपालमा पनि बढ्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।


उच्च संक्रामक मानिएको ‘टोमाटो फ्लू’ खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । संक्रमणका कारण बालबालिकाको शरीरमा टमाटरजस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लू’ नाम दिइएको हो ।

 

भारतमा अहिलेसम्म एक सयभन्दा धेरै जना बालबालिकामा यसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमणका कारण बालबालिकाको ज्यान जाने खतरा नरहेको भए पनि यसको विशिष्ट औषधि भने छैन  । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार टोमाटो फ्लू पहिलो पटक केरला राज्यको कोल्लम जिल्लामा गत वैशाख २४ मा देखिएको हो ।  


भारतमा फ्लूको संक्रमण बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको भन्दै मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा जानकारी दिई उपचार गराउन विज्ञहरूले सुझाव दिएका छन् । संक्रमणका कारण नेपालमा पर्न सक्ने प्रभावबारे अध्ययन भइरहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले बताए ।  


भारतमा फैलिएको जुनसुकै संक्रमण नेपाल आउने भन्दै जनस्वास्थ्यविद् बाबुराम मरासिनीले अधिकारी निकायले जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालमा पहिला देखिनै देखिने गरेको ह्याण्डमाउथ संक्रमणको उपप्रजाति हुनसक्ने पनि बताएका छन् ।


फोहोर मैलामा धेरै यो रोग संक्रमण हुने भएकाले बालबालिकाको सरसफाइमा ध्यान दिन डा. मरासिनीको सुझाव छ । बालबालिकामा देखिने रोग भनेर चिनिए पनि ३२ वर्ष उमेर समूहसम्म पनि यो फ्लू देखिन सक्ने उनले बताए । 


बालबालिकालाई यस्तो संक्रमण भयो भने घरमा नै राखेर सिटामोल दिन उनको सल्लाह छ ।