इटहरीमा १०८ शिवलिङ्गको स्थापना

न्युजलय १४ कार्तिक २०८२, बिहिबार ०२:५३ मा प्रकाशित

इटहरी । इटहरीमा १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गर्न आध्यात्मिक धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिने भएको छ । इटहरी –२ स्थित आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा शिवलिङ्ग स्थापना गरिएको हो । 

गत असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापनको अवसरमा कात्तिक १४ गतेदेखि २१ गतेसम्म १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ ।

कात्तिक १४ गते कलश शोभा यात्रा गरिनेछ । कात्तिक १७ देखि १९ गतेसम्म विशेष प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । 

सो कार्यक्रममा देश–विदेशका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।