काठमाडौँ । साउदी गएको पाँच महिनामै नेपाल फर्काइएका ४५ कामदार काठमाडौंमा अलपत्र परेका छन् ।
उनीहरू सुनसरी, रौतहट, बारा, धनुषा, रूपन्देही, कपिलवस्तुलगायत जिल्लाका हुन् । दुई दिनअघि नेपाल आइपुगेका उनीहरूलाई अनामनगरको नूर अपर्च्युनिटी ओभरसिजले साउदी पठाएको थियो ।
नेपाल फर्केका कामदार साउदीस्थित कम्पनी सपोर्ट एन्ड सप्लाई वर्क्ससप फर अटो मेन्टिनेन्सअन्तर्गत दम्माम, उम्लुज र हेयलमा काम गर्ने गरी एकैदिन काठमाडौंबाट उडेका थिए ।
त्यहाँ मासिक तलब साउदी रियाल एक हजार र खानाका लागि मासिक थप तीन सय साउदी रियाल पाउने भनी स्पोन्सर टर्की अल्माराहीसँग सम्झौता भएको थियो । कम्पनीले नै खाने, बस्ने, काममा जान–आउन यातायातको सुविधा दिने, साउदीको कानुनअनुसार अतिरिक्त समय र बिदा दिने सम्झौतापत्रमा उल्लेख छ ।
सबै प्रक्रिया पुर्याएर गए पनि सम्झौताअनुसार काम र सेवासुविधा नपाएपछि उनीहरूले साउदीको अदालतमा मुद्दा हाले । अदालतले टिकट काटेर फिर्ता पठाइदिनु भन्ने फैसला गरेपछि कम्पनीले पाँच महिनामै फर्काइदिएकोपीडित कामदारले बताएका छन् ।