रौतहट । रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् ।
गरुडा नगरपालिका –९ गमरिया टोल बस्ने २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य केही कारणले सो कदम चालेको हुनसक्ने प्रहरीको अनुमान छ । आगोबाट निजको घाँटीमुनिको भाग करिब ३१ प्रतिशत जलेको रौतहट प्रहरीले जनाएको छ।
घटनालगत्तै उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा घाइते युवकले मानसिक रोगको औषधि सेवन गरिरहेको र घटनाको समयमा मादक पदार्थ सेवन गरेको उनका पारिवारिक सदस्यहरूले बताएका छन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।