आज तुलसीको विवाह गर्ने दिन

न्युजलय २९ कार्तिक २०७८, सोमबार ०८:२० मा प्रकाशित

काठमाडौं । आज हरिबोधिनी एकादशी । कार्तिक शुक्ल एकादशी ठूली एकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध छ । यस दिन विशेषगरी विष्णु भगवानको पूजा आरधनासहित तुलसी विवाहको उत्सव मनाइन्छ । आजको दिन नै हरिशयनी एकादशीबाट चिरनिद्रामा सुतेका विष्णु भगवान् उठ्छन् भन्ने जनविश्वास रहेको छ ।

सनातन धर्मअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिना सुतेर भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुनेका र त्यसै प्रार्थनाका प्रभावले निद्राबाट उठेका थिए । यसै दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको धार्मिक विश्वास छ ।

वर्षभरिका २४ वटा एकादशीमध्ये हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो । यसको महिमाका कारणले पनि यस एकादशीलाई सबैभन्दा ठूलो अर्थात् ठूली एकादशी पनि भन्ने गरिएको हो ।

तुलसी निकै लाभदायक वनस्पती हो । यसको पौराणिक र चिकीत्सकीय महत्व रहेको छ । जन्म, मृत्युदेखि हरेक सनातन संस्कारमा तुलसीको बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन सेवन गर्ने चलन अझै पनि कैयनमा विद्यमान छ ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थलवरपर विषालु सर्प पनि आउँदैनन् ।

औपचारिक रूपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको बिरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । सोही तुलसीको बिरुवाको गमलालाई एकादशीको साँझ गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि गमलाको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र ओढाउनु पर्छ । गमलालाई सारीमा बेरेर तुलसीलाई चुरा लगाइदिएर श्रृंगार समेत गरिदिनु पर्छ ।

त्यसपछि भगवान् गणेश आदि देवताहरूको तथा शालिग्रामको विधिवत रूपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु पर्दछ । त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रूपमा राख्नु पर्छ र भगवान् शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मठलाई सात पटक परिक्रमा गराउनु पर्छ । आरतीपश्चात् विवाहोत्सव पूर्ण हुन्छ ।

तुलसी विवाहमा हिन्दु विवाहजस्तै गरी सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समय मंगलगीत पनि गाइन्छ ।