प्रदेश १ का किसान र व्यापारीले मागे सहुलियत दरमा शीतभण्डारको सुविधा

न्युजलय ३ पुस २०७८, शनिवार ०१:०२ मा प्रकाशित

मोरङ । प्रदेश १ का कृषक तथा ब्यवसायीले सहुलियत शीत भण्डारणको सुविधा माग गरेका छन् । विराटनगरमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको एक कार्यक्रममा किसान र व्यवशायीले यस्तो सुविधा माग गरेका हुन् ।

किसानलाई सशक्तिकरण गर्न, उत्पादित सामान सुरक्षित राख्न शीत भण्डारण आवश्यक रहेकोमा उनीहरुको जोड थियो । महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले मुलुकमा सञ्चालनमा रहेको करिब ४३ वटा गोदामघरमा अधिकांश नोक्सानीमा रहेको बताए ।

प्रदेश १ भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलका अनुसार सरकारले गोदाम घर सञ्चालन र ब्यवस्थापनका लागि नियमावली बनाएको बताए । हाल संघीय र प्रदेश सरकारबीचको अधिकार बाँडफाँट समस्याले प्रक्रिया अघि बढाउन नसकिएको बताइएको छ ।

विद्युत आपूर्ति, यातायात देखि मौसमसमेतको प्रभाव हुने गोदामघर प्रदेश १ मा हालसम्म १७ वटा रहेको छ । कार्यक्रममा मोरङ, इलाम, झापा, सुनसरी, तेह्रथुमबाट कृषि सम्बन्धी संघसंस्थाका प्रतिनिधि सहभागी थिए।