धरान । विभेद र कलंकविरुद्ध विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी मनाइँदै आएको यसवर्षको बायो इथिक्स दिवस शुक्रबार सकिएको छ। धरानस्थित वीपी प्रतिष्ठानमा एक कार्यक्रमका बिच दिवसको समापन गरिएको हो ।
मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा नैतिकतालाई प्रश्रय दिनका लागि यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विगत ८ वर्षदेखि यो दिवस मनाउँदै आइएको छ ।
बायो–इथिक्स नेपाल एकाइले यसबिचमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । जसमा नेपालका विभिन्न मेडिकल कलेजहरूबाट चिकित्सक, अनुसन्धाताहरुको सहभागिता रहेको थियो ।
यस वर्ष वैज्ञानिक लेखमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी ऋचा कोइराला, फोटोग्राफी प्रतियोगितामा पाटन एकेडेमीकी काजल यादव, कविता प्रतियोगितामा जानकी मेडिकल कलेजकी उजमा हुस्सेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सची पोखरेल र छोटो मूभिमा विराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समूह उत्कृष्ठ हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि पठाइएको छ ।
कार्यक्रमका संयोजक नेपाल एकाइ तथा प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्रा.डा. धन रत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मननका कार्यक्रमहरु नियमित र व्यापक हुनुपर्ने बताए । उनले यस वर्षको नाराले समाज र हाम्रो व्यवहारमा ब्याप्त विभेद, हेय र कलङ्क सजगतापूर्वक हटाउँदै मर्यादा र मानव मूल्यको प्रवद्र्धन गर्नको लागि आवश्यक मनन, चिन्तन, मन्थन गर्न र अभ्यासहरू अवलम्बन गर्न घचघच्याएको विचार राखे ।
नेपाल एकाइका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धन रत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थी संकायका सदस्यद्वय मानश्वी आचार्य र रजनी न्यौपानेले सञ्चालन गरेका थिए।
मूल टिप्पणीमा नेपाल एकाइका प्रमुख प्रा.डा.धन रत्न शाक्यले एकाइ र यस सिद्धान्तबारे परिचयात्मक मन्तव्य राख्दै बायोइथिक्सको यो महत्त्वपूर्ण सिद्धान्त यस वर्षको नाराले हाम्रो जस्तो विभेद र असमान व्यवहार व्याप्त समाजमा विशेष अर्थ राख्ने तथा समाज र राज्यस्तरमै नीतिगत र व्यावहारिक परिवर्तनका लागि आधार हुने धारणा राखे ।
नेपाल एकाइका सदस्य डा.अशोक ऐरले विविध नीतिगत सिद्धान्तसहित यस वर्षको नाराबारे आफ्नो प्रस्तुति राखेका थिए भने विद्यार्थी संकायकी अक्षता वस्तीले यस वर्षको नाराबारे सेमिनार प्रस्तुति राखेकी थिइन् । कार्यक्रममा निर्णायक मण्डलबाट प्रा.डा. रिता खड्का तथा विद्यार्थी संकायका हेड प्रशान्त सापकोटाको पनि मन्तव्य रहेको थियो ।
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ। युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ । इन्टरनेशनल सोसाइटी अफ बायो इथिक्सको स्थापना भएको अक्टोबर १९ मा विश्वभर यो दिवस मनाइन्छ ।