संखुवासभा । केही साता अघिदेखि परेको निरन्तर झरीका कारण संखुवासभामा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। निरन्तर झरी परेपछि खेलमैदान समेत हिलाम्मे भएकाले खेल स्थगित गरिएको आयोजक एडभान्स क्लबका अध्यक्ष ईश्वर घिमिरेले जानकारी दिए।
जिल्लाका सरोकारवाला निकायका प्रमुख व्यक्तिहरूद्वारा खेलमैदान अनुगमनपछि प्रतियोगिता सारेर आगामी मंसिर १३ देखि १७ गतेलाई पुरयाएको घिमिरेले जनाए ।
यही कात्तिक १ देखि ५ गते खाँदबारी–३ मानेभञ्जाङमा अरुणभ्याली अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको थियो। उक्त प्रतियोगितामा क्यामरुनको एभिनियर फुटवल क्लब र वेस्ट बंगालको आमुक्त फुटबल टिमसहित धनकुटा, भोजपुर, सुनसरी र संखुवासभाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ।
उक्त प्रतियोगिताका विजयी टिमले ३ लाख र उपविजेता टिमले २ लाख पुरस्कार पाउनेछन्। प्रतियोगितामा कुल ३७ लाख रुपैयाँ अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ।