निरन्तर सामाजिक कार्यका लागि राजकुमार गिरी दम्पतीलाई सम्मान

न्युजलय २७ पुस २०८०, शुक्रबार ०७:२५ मा प्रकाशित

इटहरी । पेशागत महासंघ नेपाल कोशी प्रदेश समितिले इटहरीका समाजसेवी राजकुमार गिरी दम्पत्तीलाई सम्मान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । 


निरन्तर सामाजिक काम गरेको भन्दै महासंघ केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका गिरी र उनकी श्रीमती गोमा गिरीलार्इ दोसल्ला तथा अभिनन्दन पत्रले सम्मान गरेको हो । 


दम्पतीले महासंघको प्रदेश कार्यालय निर्माणका लागि इटहरी १७ मा एक करोड मूल्य बराबरको जग्गाका साथै भवन निर्माणका लागि तीन लाख रुपैया दिएका थिए । यस्तै उनले इटहरीमा निजी लगानीमा प्रहरी चौकीसमेत निर्माण गरिदिएका थिए । उनले जयलक्ष्मीदीप टोल विकास संस्थालाई जग्गा दिएर आफ्नै सक्रियतामा भवन निर्माणसमेत गरिसकेका छन् भने अन्य धेरै सामाजिक कार्यको नेतृत्व लिने तथा सहयोग गर्ने काम गरिरहेका छन् ।


कार्यक्रमका प्रमुख अतिथि तथा महासंघका केन्द्रीय अध्यक्ष पुन्यप्रसाद ढकाल, नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुविर महासेठ, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु बराल, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, विनोद ढकाललगायतले उनीहरुलाई सम्मान गरेको हो । 


कार्यक्रम महासंघका प्रदेश अध्यक्ष अशेष लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।