इटहरी । इटहरीमा विहीबारदेखि दुई दिनसम्म वृत्तचित्र तथा छोटा फिचर फिल्महरुको प्रदर्शनी हुने भएको छ ।
काठमाडौ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत विहीबार र शुक्रबार इटहरीको संगीत साधना प्रतिष्ठानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तचित्र तथा फिचर फिल्म देखाइने भएको हो । इटहरीमा फेस्टिभलको संयोजन संगीत साधना प्रतिष्ठान इटहरीले गर्दैछ ।
फिल्मको प्रदर्शन निःशुल्क हुने प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए । उनका अनुसार विहीबार बिहान उद्घाटन हुनेछ भने साँझ इटहरीका पुराना र नयाँ फिल्ममेकरहरुबिच अन्तक्र्रिया गरिनेछ । यस्तै शुक्रबार बिहान फिल्ममेकरहरुलाई किम्फको संक्षिप्त प्रशिक्षणको कार्यक्रम रहेको उनले बताए । शुक्रबार साँझ संगीत चोकमा ७२ मिनेट लामो ‘इन द स्याडो अफ एभरेस्ट’ नामक वृत्तचित्रको खुला प्रदर्शन गर्दै कार्यक्रम समापन गरिनेछ ।
इटहरीको फेस्टिभलमा तीन हजार जनाले वृत्तचित्र र फिल्म हेर्ने अनुमान गरिएको छ ।