कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनशन बस्ने

न्युजलय २५ भदौ २०८१, मङ्गलबार ०६:१६ मा प्रकाशित

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की मंगलबार (आज(देखि आमरण अनशन बस्ने भएका छन् ।

आफू नेतृत्वको सरकारले गरेका कार्यक्रम वर्तमान नेतृत्वको सरकारले कटौती गरेको भन्दै उनी आमरण अनशन बस्न लागेका हुन् ।

आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदय रोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जङ्गली जनावरको संरक्षणका लागि जनावरमैत्री जङ्गल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया कोरिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै आमरण अनशन बस्न लागेको उनले जनाएका छन् ।

उनले गत आइतबार प्रदेशसभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए । तर, पत्रको सम्बोधन नभएपछि कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्न लागेका हुन् ।

कार्कीले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेशसभा परिसरमा अनशन बस्ने तयारी गरेका छन् ।