यू–१९ विश्वकप छनोटको अन्तिम खेलमा नेपाल विजयी

न्युजलय २६ जेठ २०७९, बिहिबार ०४:२४ मा प्रकाशित

 काठमाण्डौ । आइसिसी यू–१९ टी–२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले मलेसियालाई हराएको छ । आफ्नो पाँचौं खेलमा घरेलु टोली मलेसियालाई २५ रनले हराउँदै नेपालले सुखद अन्त्य गरेको हो । 

प्रतियोगितामा नेपालको पाँचमध्ये तीनमा जित र दुई खेलमा हारको सामना गर्‍यो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रन, तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । यूएई र थाइल्याण्डविरुद्ध भने नेपाल पराजित हुन पुग्यो ।  

यूएई र थाइल्याण्डसँगको हारसँगै विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको थियो । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै ६१ रन मात्र बनाउन सक्यो ।