५ औं प्रकाशपुर च्यालेन्च कप सुरु, इनरुवा इभेन्ट सेमि फाइनलमा प्रवेश

बाबुराम कार्की १८ साउन २०७९, बुधबार ०२:१४ मा प्रकाशित

प्रकाशपुर । बराहक्षेत्र १०, प्रकाशपुरमा आज (मंगलबार) देखि ५ औं प्रकाशपुर च्यालेन्ज कप सुरु भएको छ । मंगलबारको उद्घाटन खेलमा इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवाले राजाबास युवा क्लब राजाबास लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमि फाइनलमा प्रवेश गरेको छ । 


खेल सुरु भएको १२ औं मिनेटमा राजाबास युथ क्लबका टिम क्याप्टेन जर्सी नम्बर ७ का रिकेश राईले गोल गरेर आफ्नो समूहलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २० औं मिनेटमा इनरुवा इभेन्टका जर्सी नम्बर ९ का विश्व श्रेष्ठले प्रहार गरेको बल गोलमा परिणत भएको थियो र खेल बराबरी भएको थियो ।


त्यसैगरी खेलको ३० औं मिनेटमा इनरुवा इभेन्टका जर्सी नम्बर ८ का ओमप्रकाश दनुवारले गोल गर्दै अग्रता लिएको इनरुवाले दोस्रोहाफको २२ औं मिनेटमा इनरुवाकै जर्सी नम्बर ११ का फगुराम चौधरीले अर्काे गोल गर्दै १ का बिरुद्ध ३ गोलले अग्रता दिलाएका थिए । 


त्यस्तै इनरुवा इभेन्टकै जर्सी नम्बर १० का अनिश श्रेष्ठले दोस्रो हाफको २४ औं मिनेटमा थप १ गोल गर्दै इनरुवा १ का विरुद्ध ४ गोल गर्दै इनरुवा सेमि फाइनलमा प्रवेश गरेको छ । 


आजको खेलमा इनरुवा इभेन्टका जर्सी नम्बर ८ का ओमप्रकाश दनुवार म्यान आफ द म्याच घोषित भए । उनलाई आयोजकले नगद र मेडल प्रदान गरेको थियो । भोलीको खेल सालवनी फुटवल क्लब र गोल्डेन स्टार यूथ क्लब दुहवी, भलुवा विच हुने छ ।


प्रकाशपुर च्यालेन्ज कपको उद्घाटन बराहक्षेत्र १० का वडाध्याक्ष तेजबहादुर गुरुङले गरेका थिए । आगामी साउन २४ गतेसम्म चल्ने च्यालेन्ज कपमा जिल्लाबाहिरको पञ्चकन्या फुटबल क्लब उदयपुर सहित ८ वटा टीमको सहभागीता रहेको छ । 


इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवा, राजाबास युथ क्लब, राजाबास बराहक्षेत्र ९, सप्तकोशी युवा क्लब देबीघाट, बराहक्षेत्र ७, तालतैलया फुटबल क्लब इटहरी, सालवनी फुटबल क्लब सालवनी,बराहक्षेत्र ८, गोल्डेन स्टार यूथ क्लब दुहबी भलुवा, प्रकाशपुर फुटबल क्लब बराहक्षेत्र १०, प्रकाशपुर, बिच हुने प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले बताए ।


प्रथम पुरस्कार ५५ हजार र द्वितीय पुरस्कार ३५ हजार सहित सिल, टफि, मेडल, मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफि मेडल राखिएको आयोजक टीमका सचिव सनम मगरले जानकारी दिए । 

खेलको प्रायोजक बराहक्षेत्र नगर खेलकुद विकास समिति र सह प्रायोजक बराहक्षेत्र वडा नंं.१० कार्यलय रहेको आयोजकले जनाएको छ ।