ट्वान्टी–२० विश्वकपको उपाधि इंग्ल्यान्डलाई

न्युजलय २८ कार्तिक २०७९, सोमबार १२:५९ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि इङ्ग्ल्यान्डले जितेको छ। आइतबार सम्पन्न खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ग्ल्यान्डले उपाधि उचालेको हो।


इङ्ग्ल्यान्डले दोस्रोपटक आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको हो। यसअघि इङ्ग्ल्यान्डले सन् २०१० मा पल कलिङवुडको कप्तानीमा पहिलो पटक उपाधि जितेको थियो।


पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। इङ्ग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५२ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे।


कप्तान जोस बटलरले १७ बलमा ३ चौका र १ छक्कासहित २६ रन जोडे। मोइन अलिले १९ र ह्यारी ब्रेकले २० रनको योगदान दिए।


पाकिस्तानका तीव्र गतिका बलर हरिस रउफले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिए। शादब खान, शाहीन अफ्रिदी र मोहम्मद वाशिमले १र१ विके लिए।


त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो।


पाकिस्तानका शान मसुदले सर्वाधिक ३८ रन बनाए। उनले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान बाबर आजमले २८ बलमा २ चौकासहित ३२ रन बनाए।