भारतको गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सात जना नेपाली बेपत्ता

न्युजलय १९ साउन २०८०, शुक्रबार ०१:०२ मा प्रकाशित

काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सातजना नेपाली बेपत्ता भएका छन् ।

भारी वर्षापछि झरेको पहिरोले तीनवटा पसल बगाउँदा सात नेपालीसहित कम्तिमा १३ जना बेपत्ता भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीबाट प्राप्त सूचना अनुसार बेपत्ता भएकामा अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, छोरी १४ वर्षीया राधिका र ८ वर्षीया पिंकी तथा छोराहरु ७ वर्षका पृथ्वी, ६ वर्षका जटिल र ३ वर्षका वकील छन् ।

लगातार वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

उनीहरुको नेपाल घर कहाँ हो भन्ने खुलेको छैन ।  पहिरोमा बगेको एउटा पसल बोहरा परिवारले चलाइरहेको बताइएको छ । यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

पहिरोमा पुरिएर ६ जना भारतीय नागरिक पनि बेपत्ता भएको जागरणले जनाएको छ । नेपाल प्रहरीले भने घटनाबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

गौरीकुण्ड प्रशिद्ध तिर्थस्थल केदारनाथ जाने बाटोमा पर्छ ।