इटहरी । इटहरी–२ का २९ वर्षीय आशिष दाहालको कतारमा निधन भएको छ ।
तीन वर्षअघि कतार गएका दाहालको गत असार ९ गते निधन भएको कतारको अदान हस्पिटलले पुष्टि गरेको छ । असार ९ गते निधन भएपनि पीडित परिवारले भने पाँचदिन अघि मात्रै थाहा पाएका छन् ।
साताको प्रत्येक शुक्रबार घरमा कुराकानी भइरहने आशिषले तीन सातायता सम्पर्क नगरेपछि उनको खोजी सुरु गरिएको थियो ।
पछिल्लोपटक असार ५ गते आशिषले उनकी बहिनी अस्मितासँग कुरा गरेका थिए । त्यसपछि उनी सम्पर्कमा आएनन् । सम्पर्कमै नआएपछि खोजी गर्ने क्रममा असार २९ गते मात्रै मृत रहेको जानकारी पाएको मृतकका बुबा खगेन्द्रले बताए ।
पीडित बुबाका अनुसार तीन वर्षअघि कतार गएका उनी गएको एक महिनामै बाथरुमा लडेर घाइते भए । त्यसपछि नौ महिना ‘बेड रेस्ट’ गरेर काममा फर्किएका उनी होटलमा ‘कुक’को काम गर्थे ।
पारिवारिक स्रोतका अनुसार आशिषको शव अहिले कतारको अदान हस्पिटलको शव गृहमा राखिएको छ ।