कपिलवस्तुमा एक महीनासम्म झाडापखाला नियन्त्रणमा नआएपछि खोप लगाउने तयारी

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०२:५८ मा प्रकाशित

काठमाडौं । कपिलवस्तुमा फैलिएको झाडापखाला एक महीनासम्म नियन्त्रणमा नआएपछि खोप लगाउने तयारी भइरहेको छ।


कृष्णनगर नगरपालिका ९ बाट १८ असोजमा शुरू भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा पनि फैलिएको थियो। प्रयोगशालामा परीक्षण गर्दा हैजा भएको प्रमाणित भएको थियो।


जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, अहिलेसम्म शिवराज अस्पताल, बहादुरगञ्जमा एक हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएका छन्। उनीहरूमध्ये धेरैजसो उपचार गरेर घर फर्किसकेका छन्। अहिले पनि १० जना उपचाररत छन्।


झाडापखालाबाट ६ जनाको मृत्यु भएको छ। अस्पताल नल्याउँदै उनीहरूको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ।


यस क्षेत्रमा फेरि झाडापखाला बढ्न थालेको शिवराज अस्पतालका प्रमुख डा.मुकेश चौधरीले बताए। 


गाउँमा बान्ता र पखालाका बिरामी अहिले पनि देखिएका छन्। शिवराज नगरपालिका वडा नंं ७ र ८ का गाउँमा झाडापखाला देखा परे पनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए।