काठमाडौं । अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ ।
अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा भेभो चेक गर्दा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिएको छैन । यसको अर्थ उनको भिसा रद्द भएको पुष्टि हुन्छ ।
होम अफेयर्सले केही दिनअघि समीक्षाको नाममा रहेको अष्ट्रेलियाको सब–क्लास ४०८ भनिने भिसा रद्द गरिदिएको हो ।
गत वर्षको फागु पूर्णिमामा सिड्नीमा आयोजित एक कार्यक्रमका लागि समीक्षा त्यहाँ पुगेकी थिइन् । त्यो बेलामा समीक्षाको उमेर १८ वर्ष नपुगेको कारणले उनले केयर–टेकरको रुपमा आफ्नी दिदीलाई समेत लगेर गएकी थिइन् । त्यसपछि समीक्षा नेपाल फर्किए पनि दिदी चाहिं अष्ट्रेलियामै बसिन् ।
यसको केही महिनापछि पुनः अष्ट्रेलियामा जान लाग्ने क्रममा अर्को एक केयर टेकरको लागि भिसा अप्लाई गरेकी थिइन् ।
यो बेलामा पनि समीक्षाको उमेर १८ वर्ष पुगेको थिएन । यो बेलामा केयर टेकरको भिसा लागेन । साथै, समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको देखिएको छ ।