जनता स्कुलले जित्यो कस्तुरी कप अन्तरविद्यालय क्रिकेटको उपाधि

न्युजलय १८ माघ २०८२, शनिवार ०६:२१ मा प्रकाशित

इटहरी । २१ वटा विद्यालय सहभागि दोस्रो कस्तुरी कप अन्तरविद्यालय क्रिकेटको उपाधि इटहरीको जनता माविले जितेको छ । डीभीएम ग्लोबल स्कुललाई ४ विकेटले पराजित गर्दै जनताले नगद ३० हजारसहित ट्रफी प्राप्त गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको डीभीएमले घरेलु मैदानमा निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । डीभीएमका लागि दिवस विष्टले सर्वाधिक २२ रन बनाए । विष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

जवाफमा ६४ रनको विजयी लक्ष्य जनताले ९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । जनताका प्रबिन मण्डल २८ र सुन्दर राई १३ रनमा अविजित रहे । डीभीएमका आदित्य पौडेलले हृयाट्रिकसहित महत्त्वपूर्ण ३ विकेट लिए । आदित्य प्लेयर अफ द फाइनल र उदीयमान खेलाडी बने । 


विजेता जनताले नगद ३० हजार र उपविजेता डीभीएमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

बेष्ट बलर जनताका प्रबिन मण्डल भए । उनले ९ विकेट हात पारेका थिए । बेष्ट ब्याटर ग्रिनपिस एकेडेमीका रबिन खत्रीले १ सय १७ रन बनाएका थिए । उदीयमान खेलाडी डीभीएमका आदित्य पौडेल घोषित भए ।


विजेता तथा उपविजेता खेलाडीहरुलाई सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, उपाध्यक्ष सञ्जीव ढुंगाना, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेललगायतले पुरस्कार वितरण गरे । 

प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा माघ १० देखि १६ गते शुक्रबारसम्म सञ्चालन भएको हो ।


प्रतियोगिताको फाइनल खेलअघि पत्रकार र शिक्षकहरुबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । जसमा शिक्षक टिमले जित हात पारेको थियो ।