इटहरी । नेकपा एमाले नेता महेश बस्नेतले जेन्जीको नाममा नेपाली काँग्रेस र माओवादीका कार्यकर्ताहरुले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रहार गरेको आरोप लगाएका छन् । सुनसरीको इटहरीमा आयोजित प्रदेशस्तरीय युवा जागरण अभियान भेलालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले जेन्जी आन्दोलनपछि एमालेको सक्रियता धेरैलाई मन नपरेको र त्यसको पुष्टि आक्रमणहरुले गरेको बताएका छन् । सकेसम्म विथोल्ने, नभए प्रोपोगाण्डा ल्याएर विरोध गर्ने, त्यो पनि नसके फेक आइडी खोलेर एमालेलाई गाली गर्ने क्रम सुरु भएको बताए ।
उनले ओली नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री खान पाइन्छ भन्नेहरु ब्याकअपमा रहेको र त्यसमा प्रचण्ड एक भएको बताए । ‘अब मेरो पालो आयो कि क्या हो भनेर प्रचण्डले २४ गते भन्दै थिए,’ उनले भने, ‘माओवादी नेताका जेन्जी छोराछोरीहरु पनि आन्दोलनमा गएछन् भनेर प्रचण्डले आफ्नो पार्टीको सहभागिता पुष्टि गरेका छन् ।’
यस्तै बाराको आन्दोलनको मुख्य नाइके माओवादी भएको बताउँदै जेन्जीको नाममा आफ्नो गुमेको सत्ता फिर्ता ल्याउनको लागि माओवादी योजनाबद्ध लागेको बताए ।
आइतबार इटहरी आउने क्रममा शेखर कोइराला, गगन थापा निकट नेवीसंघको महेन्द्र मोरंग क्याम्पस सभापतिले आफूलाई विराटनगरमा अबिर र ढुंगा भरेर बेलुन हानेको बताउँदै भने, ‘हेर्दै जाँदा हाम्रो घर जलाउने गोरखाको काँग्रेसको क्षेत्रीय उपसभापति, मेरो घर जलाउने पनि काँग्रेस कार्यकर्ता थिए । उनीहरुलाई काँग्रेसले कारवाही गरेन, उल्टो जोगायो ।’
उनले दुर्गा प्रसाई र हर्क साम्पाङले आफ्नो वक्तव्य सच्याएर विदेशी दलालविरुद्ध बोलेको भन्दै सह्रना गरे । उनले बालेनले स्टाटस लेखेर भंग गरेको संसद पुनस्र्थापना हुनुपर्ने बताए । उनले नेपालको लोकतन्त्र ब्यारेकभित्र बुझाउने पात्र बालेन भएको आरोप लगाए ।
नेता बस्नेतले सेनाले बनाएको सरकार एमालेले नमान्ने, अदालतले संसद पुनस्र्थापना गर्ने रसुशीला कार्कीलाई सत्ताच्युत गर्न एमाले लागिपर्ने बताए । उनले सुशीला कार्कीजस्तो स्तरहीन मान्छेलाई प्रधानन्यायाधिश बनाएको गल्ती केपी ओलीले स्वीकार्नैपर्नेसमेत बताए ।
विरोधीहरुलाई चेतावनी
प्रहरीले सुरक्षा दिन्छु भनेकैले आफूहरु दुई वटा गाडीमा मात्र विराटनगरदेखि इटहरीसम्म हिडेको बताउँदै उनले एमाले संयमित रहेको तर हेप्नेलाई नछोड्ने चेतावनी दिए । भने, ‘एमाले कमजोर छ भनेर हेप्यौ भने सुतेको हात्तीलाई छुचुन्द्रा, कमिलाहरुले धेरै चलाए भने हात्तीले सुँढ हल्लायो भने ति सबैको हरिबिजोग हुनेवाला छ ।’
यस्तै हिजो एमाले अध्यक्ष ओलीमाथि अनेक आरोप लगाउने दुर्गा प्रसाईलाई समात्नु उनको मौलिक हक हनन हो भनेर एमालेले भनेको उदाहरण दिँदै प्रसाईको बचाउ समेत गरे ।
नेता बस्नेतले देशमा विकासको लहर सुरु गर्ने र राष्ट्रियताको पक्षमा दह्रो उभिने केपी ओलीलाई सिङ र जुरो लगाएर दानवत्वकरण गरेको र बालेन र रविको देवत्वकरण गरेकोमा आक्रोश पोखे । ‘बालेन जस्ता लुसिफर, रविजस्ता दलाललाई मुकुट लगाइदिएका छन् र केपी ओलीलाई सिङ र जुरो हालिदिएको छ,’ उनले भने, ‘हामीले कहाँ भ्रष्टाचार र राष्ट्रघात गर्यौं ? बहस गरौं । हामी कानुनी दायरामा आउन तयार छौं ।’
उनले एमालेको विरोध गर्ने, बोल्नेविरुद्ध धावा नबोल्ने बताउँदै भने, ‘नेविसंघका युवाहरु विराटनगरमा लुकेर बोल्नुको साटो यहीँ आएको भए हाम्रै मन्चमा बोल्न दिन्थ्यौं ।’
उनले एमाले भोलेन्टियर फोर्स बनाएर मैदानमा होमिइसक्दा पनि धेरै मान्छेको गएको सातो अहिलेसम्म नआएको बताए । मानवाधिकार, दलका नेता, व्यापारीहरुलाई सम्बोधन गर्दै उनले भने, ‘यी सबैलाई डोकोले छोपेर सिस्नो लगाएर सातो बोलाउनुपर्नेछ ।’
केपी ओलीको घरबारे स्पष्टीकरण
नेता बस्नेतले केपी ओलीको नाममा देशभर चार वटा घर जलाइएपनि कुनैपनि घर केपी ओलीको सम्पत्ती नभएको बताए ।
‘बालकोटको घर श्रीमतीले बैंकको सहसचिव लेभलको जागिर खाएर बनाएको घर थियो । त्यो राष्ट्रको नाममा सुम्पनु भएको थियो । त्यहाँ लाइब्रेरी र म्युजियम थियो भने दमकको घर ३५ वर्षअघि बेचिदिनुभएको थियो,’ उनले भने, ‘झापा जाँदा बस्ने घर साथीले बस्नुस् भनेर छाडिदिएको घर थियो भने तेह्रथुममा केपीबाका हजुरबा हजुरआमाहरुले बनाएको घर जलाइयो, त्यो घर पनि ठुलोबाको छोराले किनेको थियो, कुन पुरुषार्थ गर्नुभो ?’
उनले युवासंघले नेताका जलेका घरको पुनर्निर्माण तेह्रथुमको सुरु गरेको बताउँदै बालकोटको घर भने राज्यलाई दिइसकेकोले राज्यले नै बनाउने बताए । यस्तै भक्तपुरको गुण्डुमा बनाउन लागेको केपी ओली कुटीको लागि देशभरबाट सहयोग दिन चाहना धेरैले राखेपनि त्यो घर गुण्डुवासीले बनाइदिने बताए ।
चोर डाँका, आतंकवादीहरुलाई शहीद भन्न सक्दिनँ
उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन १० प्रतिशत आन्दोलन र ९० प्रतिशत आतंकवादी गतिविधि भएको बताए ।
उनले जेन्जीको आन्दोलन नयाँ बानेश्वरसम्म भद्र रहेको तर त्यसपछिका घटनाहरुले उत्तेजक बनाएको बताए । उनले टिओबी आएर भीडलाई उत्तेजित बनाएको, पानी बाँड्ने भन्दै हामी नेपाली भन्ने समुहले पानीमा मिसावट गरेको बताए । महानगरको गाडीले पानी बाँडेको बताउँदै भने, ‘पानीभित्र के मिसाएर बाँड्यो ? पानी खानका लागि बाँडिएको थियो कि युवाको अश्रुग्याँस पखाल्नका लागि बाँडिएको थियो ?’
उनले नेपालको सिंहदरबार, संसद, अख्तियार जल्नु पनि अमेरिकामा ट्वीन टावर जल्नु जस्तै भएको बताए । भने, ‘उनीहरुलाई म क्रान्तिकारी भन्न सक्दिनँ, उनीहरु आतंकवादी हुन् । भाटभटेनी चोर्न जाँदा मर्नेहरु शहीद होइनन् । चोर डाँका, आतंकवादीहरुलाई शहीद भन्न सक्दिनँ ।’
उनले आन्दोलनमा मृतक र घाइतेका परिवारलाई खाँचै परेको भए राज्यले सहयोग गर्नुपर्ने पनि बताए । ‘खाँचै पर्यो भने राज्यले सहयोग गर्नुपर्छ, पर्यो भने हामी पनि खोजेर दिन्छौं, हामीमा त्यती मानवीयता छ,’ उनले भने, ‘किनकी आफ्नो व्यवशाय गरेर गरि खाएकाहरु युवाहरु हामीसँग हुनुहुन्छ । तिमीहरुजस्तो भीख मागेर खानुपर्ने छैन ।