अमेरिकी डिभी फारम भर्दा १ डलर शुल्क अनिवार्य

न्युजलय ११ असोज २०८२, शनिवार ०१:०१ मा प्रकाशित

काठमाडौँ । अमेरिकी डिभी लट्रीको आवदेन फारम भर्नेहरुले अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ । पहिले डिभी आवेदन फारम भर्दा शुल्क लाग्दैनथ्यो । तर अमेरिकी विदेश मन्त्रालयको निर्णय अनुसार अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने छ ।

धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले सबै आवेदकबाट एक डलर शुल्क लिने निर्णय गरिएको अमेरिकाको फेडरल रजिष्टरले जारी गरेको सूचनामा उल्लेख छ ।

यो नयाँ नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जुन सन् २०२५ को अक्टुबरको सुरुमा खुल्दैछ ।

डिभीको फारम भर्दा पासपार्ट अनिवार्य चाहिने नियम यथावत राखिएको छ । साथै डिभी परिसकेपछि भिसा शुल्कवापत तिर्नुपर्ने ३३० डलर शुल्क पनि यथावत राखिएको छ ।