पाँचथर । झापाको दमकमा रहेको इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार र केही थान गोली पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित जङ्गलको ओढारमा फेला परेका छन् ।
फेला परेका तीनमध्ये एकथान जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । झापा र पाँचथरबाट खटेको प्रहरीको संयुक्त टोलीले बुधबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा दमकस्थित प्रहरी कार्यालय आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचथर मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाकको बयानका आधारमा खोजी गर्दा प्रहरीले फेला पारेको हो ।
यसरी फेला परेका हतियारमा म्यागेजिन सहितको ३०३ मार्क–३ राइफल, जलेको अवस्थामा रहेको एक थान इन्सासको बट र हृयान्ड–ग्रिप, इन्सासको एक थान जंगी राउन्ड र एसएलआरका तीन थान जंगी राउन्ड रहेको प्रहरीले जनाएको छ ।
बरामद हतियार फोरन्सिक र कानुनी प्रक्रिया पूरा गरेर सुरक्षित रुपमा राखिएको छ । पक्राउ परेका फियाकविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।