काठमाडौँ । रुस र युक्रेनबीच भएका आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी मिसाइल र ड्रोन आक्रमणमा ९ वर्षीया बालिकासहित ६ जनाको मृत्यु भएको छ। यता, रुसले भने युक्रेनी ड्रोन आक्रमणमा आफ्नो नियन्त्रणमा रहेको होर्लिभ्कामा चार सर्वसाधारणको ज्यान गएको जनाएको छ।
युक्रेनी वायुसेनाका अनुसार रुसले रातभर सातवटा ब्यालिस्टिक मिसाइल र १३६ वटा ड्रोन प्रहार गरेको थियो। आक्रमणको मुख्य निशानामा राजधानी किभ, चेर्निहिभ, जापोरिज्झिया र खार्किभ रहेका थिए। उत्तरी सहर चेर्निहिभमा रुसी ड्रोनले एउटा सुपरमार्केटलाई निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ। मृतकमध्ये एक ९ वर्षीया बालिका रहेकी छन्। यस आक्रमणमा अन्य २५ जना घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारण किनमेल गरिरहेको सुपरमार्केटमाथि भएको आक्रमणलाई अत्यन्त निर्दयी र कुनै पनि सैन्य औचित्य नभएको आतंककारी कार्यको संज्ञा दिएका छन्।