दमकका पिन्टुकुमार २४ करोड बढीको सट्टेबाजी आरोपमा पक्राउ

न्युजलय २० असोज २०८०, शनिवार ०७:३५ मा प्रकाशित

झापा । झापाको दमक १२ निवासी ३० वर्षीय पिन्टुकुमार साह सट्टेबाजीमा सक्रिय भइ करोडौं कारोबार गर्ने गरेको आरोपमा पक्राउ परेका छन् । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुरोधमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले उनलाई दमकबाट पक्राउ गरेको हो ।


करिब छ महिना पहिले कार्यालयमा विभिन्न स्रोतबाट अवैध अनलाइन सट्टेबाजीको प्लेटफर्ममा सक्रिय भइ कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


साहले इन्टरनेटको दुरुपयोग गरी वनएक्स बेट, मेलबेट, ३८८८, रुपी बेट, स्काई चेन्ज, ब्याल्ली बेट, खेल विन, इण्डो २४ बेट, केएनजीईएम ८८ जस्ता बेटिङ प्लेटफर्म प्रयोग गर्थे ।

उनले यूआरएल इन्टरनेट, इन्ट्रानेट, भीपीएनको पब्लिक, स्टाटिक, डाइनामिक आईपी एड्रेसबाट सञ्चालन गरी विभिन्न व्यक्तिहरू ९सहभागी०लाई अनलाइन अकाउन्ट बनाएर उपलब्ध गराएको आरोप छ । 


सहभागीलाई विभिन्न बैंक खाताहरूमा रकम जम्मा गर्न लगाइ साहले अनलाइन जुवा, सट्टेबाजी जस्ता अनलाइन गेम खेली गैरकानूनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।