काठमाडौं । भारत अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । आफ्नो चौथो खेलमा बुधबार बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हासिल गर्दै भारत एक खेलअघि नै सेमिफाइनल नजिक पुगेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १८४ रन बनायो ।
जारी विश्वकपमा शानदार इनिङ्स खेलिरहेका विराट कोहलीले चार खेलमा तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा ४४ बलमा अविजित रहँदै ६४ रन बनाए ।
त्यस्तै सूर्यकुमार यादवले १६ बलमा ३० रन जोडे । फ्लप रोहित शर्माले ८ बलमा २ रनमात्र बनाउन सके । बंगलादेशका हसन महमुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।
जवाफमा वर्षाले गर्दा डकवर्थ लेविस नियमअनुसार १६ ओभरमा १५१ रनको चुनौती पाएको बंगलादेशले ६ विकेटको क्षतिमा १४५ रनमात्र बनाउन सक्यो ।
लिटन दासले २७ बलमा ६० रन बनाए । पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्ने क्रममा ओपनर नज्मुल होसेन शान्टोले २१ रन जोडे ।
यो जितपछि भारत ४ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ । तेस्रो स्थानको बंगलादेशको ४ खेलबाट ४ अंक छ ।