काठमाडौं । त्रिभुवन विश्वविद्यालय बीए तेस्रो वर्षलगायतका सङ्कायहरूको परीक्षाफल १ वर्षभन्दा बढी समय भइसक्दा पनि प्रकाशन नभएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खु अगाडी प्रदर्शन गर्दै धर्ना दिएका छन्।
उनीहरूले ‘रिजल्ट कुर्न नसकेर साथी खाडी गइसक्यो’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
परीक्षाफल समयमा नआउँदा माथिल्लो तहमा भर्ना हुन समस्या भएको उनीहरूको गुनासो थियो। विदेश पढ्न जान समस्या भएकोले समयमै परीक्षाफल सार्वजनिक गर्न त्रिविलाई दबाब दिन धर्ना दिइएको सहभागी विद्यार्थीले बताए।
परीक्षा नियन्त्रकसँग भेटेर कुरा गर्दा पनि उनी सकारात्मक नरहेकोले धर्नामै उत्रिनु परेको नेवीसंघले जनाएको छ।