विराटनगर । इटहरीका लालबहादुर पौडेललाई आत्महत्या प्रयास गर्न बाध्य बनाउने व्यवशायी गंगाराम शाह तेलीलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध विभिन्न पाँच वटा व्यक्ति तथा संस्थाले जम्मा ६ वटा मुद्धा हालेको पाइएको छ । इटहरीस्थित अम्बे सहकारी ठगीमा पनि उनी आरोपित रहेको पाइएको छ । २०८० सालदेखिका ती मुद्धाका आरोपी तेली पछिल्लो समय पौडेलको आत्मदाह प्रयाससँग जोडिएका थिए ।
लालबहादुर पौडेलले ब्याजको लोभमा व्यवसायी गंगाराम साह तेलीलाई आफ्नो जग्गा धितो राख्न दिएका थिए । तेलीले एनआइसी एसिया बैंकमा धितो राखेर साढे दुई करोड रुपैया ऋण निकाले । तर ऋणको न साँवा बुझाए, न ब्याज । बैंकले लिलामी प्रक्रिया अघि बढाएपछि पौडेलले बैंकमै पुगेर आत्मदाह प्रयास गरेका थिए ।
उनले केही दिनअघि बैंकभित्रै आत्मदाह प्रयास गरे । उनले बैंक र तेली मिलेर आफूलाई डुबाउन खोजेको आरोप लगाएका थिए ।
आफ्नै शरीरमा पेट्रोल छर्किन खोजेपछि उनलाई बैंकका कर्मचारी र दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका सदस्यले जोगाएका थिए भने पछि प्रहरीले पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले पौडेलले बैंकमा पुगेर आगो लगाउने प्रयास गरेको भन्दै अनुसन्धान भइरहेको बताए ।