इटहरीमा पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रवेश परीक्षा हुने

न्युजलय २० भदौ २०८३, शनिवार ०६:०८ मा प्रकाशित

इटहरी । कृषि, पशु चिकित्सा, मत्स्य तथा वन विज्ञान अध्ययन गर्न चाहने पूर्वी नेपालका विद्यार्थीका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयले यस वर्ष सुनसरीको इटहरीमा पनि प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ।


यसअघि सीमित स्थानमा हुँदै आएको प्रवेश परीक्षा केन्द्रमा इटहरीको जनता क्याम्पस थपिएपछि कोशी प्रदेशसहित पूर्वी नेपालका विद्यार्थीलाई सहज हुने भएको हो। विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ का लागि रामपुर–चितवन, हेटौंडा, काठमाडौं, जनकपुर, इटहरी र नेपालगञ्जमा परीक्षा केन्द्र तोकेको छ।


इटहरीमा परीक्षा केन्द्र तोकिएपछि पूर्वी नेपालका विद्यार्थीले प्रवेश परीक्षाका लागि काठमाडौं वा चितवनसम्म पुग्नुपर्ने बाध्यता कम हुने भएको छ। सुनसरीको इटहरीस्थित जीविका कृषि कलेजका व्यवस्थापक शिवकुमार डाँगीले आफ्नै क्षेत्रनजिक परीक्षा केन्द्र हुँदा विद्यार्थी र अभिभावकको समय तथा खर्च दुवै बचत हुने बताए।


“पूर्वका विद्यार्थीले चितवन वा काठमाडौं गएर प्रवेश परीक्षा दिनुपर्ने बाध्यता कम हुन्छ। आफ्नै क्षेत्रनजिक परीक्षा केन्द्र हुँदा विद्यार्थी र अभिभावक दुवैलाई खर्च तथा समय बचत हुन्छ,” डाँगीले भने।


कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालमा कृषि, वन, पशु विज्ञान, भेटेरिनरी तथा मत्स्य शिक्षामा केन्द्रित राज्यको पहिलो प्राविधिक विश्वविद्यालय हो। विश्वविद्यालयअन्तर्गत कृषि, पशु विज्ञान तथा भेटेरिनरी, मत्स्य र वन संकाय सञ्चालनमा छन्।


इटहरीमा परीक्षा केन्द्र राखिनुलाई पूर्वी नेपालमा कृषि तथा सम्बन्धित प्राविधिक शिक्षाको पहुँच विस्तारका रूपमा हेरिएको छ। कोशी प्रदेशका साथै मधेशको पूर्वी भूभाग र आसपासका जिल्लाका विद्यार्थीले समेत इटहरीलाई सहज परीक्षा केन्द्रका रूपमा प्रयोग गर्न सक्नेछन्।


यस वर्ष विश्वविद्यालयले कृषि, वन, पशु विज्ञान तथा भेटेरिनरी र मत्स्यसम्बन्धी स्नातक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षा प्रणाली अपनाएको छ। प्रवेश परीक्षाको नतिजाका आधारमा योग्यताक्रम तयार गरी विद्यार्थी भर्ना गर्ने व्यवस्था गरिएको छ।


पूर्वनिर्धारित तालिकाअनुसार आवेदन दिने अन्तिम म्याद भदौ ३१ गतेसम्म र प्रवेश परीक्षा र असोज ३ गते तोकिएको छ । इटहरीसहित ६ स्थानमा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको विश्वविद्यालयले जनाएको छ। 


विश्वविद्यालयका अनुसार प्रवेश परीक्षामा १२० वटा बहुविकल्पीय प्रश्न रहने व्यवस्था गरिएको छ। अंग्रेजी, रसायनशास्त्र, प्राणीशास्त्र र वनस्पतिशास्त्रबाट समान रूपमा २२–२२ प्रश्न, भौतिकशास्त्र र गणितबाट १२–१२ प्रश्न तथा सामान्य ज्ञानबाट ८ प्रश्न सोधिने गरी पाठ्यक्रम निर्धारण गरिएको छ। परीक्षाको अवधि १ घण्टा ३० मिनेट तोकिएको छ।


सम्बन्धित शैक्षिक योग्यता पूरा गरेका विद्यार्थीले विश्वविद्यालयअन्तर्गतका स्नातक कार्यक्रममा आवेदन दिन सक्नेछन्। कक्षा १२ मा विज्ञान अध्ययन गरेका तथा कृषि शिक्षासम्बन्धी योग्यता हासिल गरेका विद्यार्थीले सम्बन्धित कार्यक्रमको निर्धारित मापदण्डअनुसार आवेदन दिन सक्ने व्यवस्था छ। पशु चिकित्सा तथा भेटेरिनरीसम्बन्धी कार्यक्रममा भने अन्य कार्यक्रमको तुलनामा छुट्टै शैक्षिक मापदण्ड तोकिएको छ।


प्रवेश परीक्षाका लागि विश्वविद्यालयले अनलाइन आवेदन प्रणाली सञ्चालन गरेको छ। आवेदनका क्रममा शैक्षिक प्रमाणपत्र, ग्रेडसिट तथा परिचय खुल्ने कागजातलगायत आवश्यक विवरण अनलाइन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।


पूर्वी नेपालमा कृषि तथा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढिरहेका बेला प्रवेश परीक्षा नै इटहरीमा सञ्चालन गर्ने निर्णयले विद्यार्थीको यात्रा, समय र आर्थिक भार घटाउने अपेक्षा गरिएको छ। नयाँ परीक्षा मिति र संशोधित तालिका सार्वजनिक भएपछि पूर्वका विद्यार्थीलाई प्रवेश प्रक्रियाबारे थप स्पष्टता हुने अपेक्षा गरिएको छ।