इटहरी । इटहरीका संस्थागत विद्यालयहरूले इटहरी उपमहानगरपालिकाले तोकेको ड्रेस कोड नमान्ने भएका छन् । उपमहानगरभित्र सञ्चालित संस्थागत विद्यालयको छाता सङ्गठनहरूले ड्रेस कोड र शुल्क निर्धारणप्रति असहमति जनाएका हुन् ।
संस्थागत विद्यालयका प्रअ, निर्देशक तथा सञ्चालकहरूलाई सम्बोधन गर्दै जारी गरिएको पत्रमा ‘‘नयाँ शैक्षिक सत्र सुरु भइसकेको सन्दर्भमा शिक्षालयहरूले आफ्नो प्रचलित ड्रेस कोड अनुसार नै शिक्षालय सञ्चालन गर्ने कुनै पनि परिस्थितिमा ड्रेस कोड परिवर्तन नगर्ने र शिक्षालयहरूबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसारै शुल्क लिने निर्णय भएको’ उल्लेख गरिएको छ ।
विद्यालयहरूको छाता सङ्गठन प्याव्सन इटहरी, एनप्याव्सन इटहरी, मन्टेश्वरी एसोसिएसन इटहरी र हिसान सुनसरीका अध्यक्षहरूले सो पत्रमा हस्ताक्षर गरेका छन् ।
यसअघि पनि प्याव्सन इटहरी, एन प्याव्सन इटहरी, मन्टेश्वरी एसोसिएसन इटहरी र हिसान सुनसरीले ‘समस्या समाधान समिति’ गठन गरेर इटहरी उपमहानगरका विभिन्न शैक्षिक निर्णयहरू विरुद्ध आन्दोलन गर्दै आएको थियो ।
पत्रमा उपमहानगरको निर्णय नमान्दा नगर सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयहरूमाथि कुनै कारवाही भएमा जिम्मेवारी सङ्गठनहरूले लिनेसमेत पत्रमा उल्लेख गरिएको छ ।
इटहरी उपमहानरपालीकाले नगरभित्र सञ्चालित विद्यालयहरूमा एउटै ड्रेस कोड लागु गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध उच्च अदालतमा मुद्दा समेत परेको थियो ।
सो मुद्दामा उच्च अदालत विराटनगरले उपमहानगरपालिकाको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । इटहरीका एमाले तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुले कोड लागु नगर्न विद्यालयहरुलाई आह्वान गरेका थिए ।