राष्ट्रिय फुटबल टोलीमा सनिशको डेब्यु

न्युजलय ९ चैत २०७९, बिहिबार ०१:२३ मा प्रकाशित

काठमाडौं । डिफेन्डर सनिश श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गर्ने भएका छन् । लाओसविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा सनिशले सुरुवाती रोजाइमा खेल्दै डेब्यु गर्न लागेका हुन् ।

फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेल्दै प्रभाव जमाएपछि एपीएफ पुगेका सनिश यसपटक लिगका उत्कृष्ट खेलाडीमा पर्छन् । एपिएफको लागि राइट ब्याक पोजिसनमा खेल्ने उनी आवश्यक पर्दा सेन्टर डिफेन्स पनि खेल्छन् । विदेशी डिफेन्डर अडामा डुम्बिया रातो कार्डका कारण निलम्बनमा पर्दा सनिशले नै डिफेन्स सम्हाले । अग्ला कदका सनिश विपक्षी आक्रमण रोक्न खप्पिस छन् र डेब्युको संघारमा छन् ।

सनिशसँगै आजको खेलमा डिफेन्समा अनन्त तामाङ, रोहित चन्द र विकास खवास छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेका छन् । मिडफिल्डमा एरिक विष्ट, नविन लामा र पुजन उपरकोटी रहेका छन् । त्यस्तै डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाल्नेछन् । सनिश श्रेष्ठ राइट ब्याक तथा विकास खवास लेफ्ट ब्याक छन् ।