२०७८ साल माघ ६ गते बिहिबार

महिला विश्वकपको छनोटबाटै बाहिरीयो नेपाल

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ०९:१८ मा प्रकाशित

काठमाडौ । नेपाली महिला खेलाडीको विश्वकप खेल्ने सम्भावना फेरी पनि तुहिएको छ । 

विश्वकपको सिँढीको रुपमा रहेको ग्लोबल छनोटसम्म पनि पुग्न नेपाली टोली असफल रह्यो । यूएईसँगको अन्तिम तथा निर्णायक खेल ४८ रनले गुमाएसँगै नेपाली टोलीको सन् २०२३ मा हुने टी–ट्वान्टी विश्वकप खेल्ने सम्भावना एसिया क्षेत्र छनोटबाटै समाप्त भएको हो। शीर्षस्थानमा रहँदै यूएईले अर्को वर्ष हुने ग्लोबल छनोटमा स्थान बनाएको छ।

पुरुष टोलीले ७ वर्ष अघि नै टि ट्वान्टी विश्व कप खेलिसक्दा महिला टोलीले अहिलेसम्म ग्लोबल छनोटमा स्थान बनाउन सकेको छैन । 

यसपटक नेपाल ग्लोबल छनोटमा पुग्ने धेरैले आशा गरेका थिए। तर, छनोट चरणको पहिलो खेलमा नै कमजोर मानिएको टोली हङकङसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।

त्यसपछि नेपालले भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेपनि महत्वपूर्ण अन्तिम खेलमा घरेलु टोली यूएईसँग पराजित भएपछि नेपालको ग्लोबल छनोट पुग्ने सपनामा एकपटक फेरी धक्का लागेको हो ।