इटहरी । इटहरी र सुन्दरहरैंचाको सीमामा पर्ने बुढी खोलामा बारम्बार अनियन्त्रित उत्खनन हुने गरेको छ ।
स्थानीयले अवरोध गर्दा पनि बारम्बार खोलामा पसेर जथाभावी ढुंगा गिटी उत्खनन गर्ने कार्य नरोकिएको हो । मंगलबार मात्रै पनि इटहरी उपमहानगरपालिकाले पठाएको भन्दै एउटा स्कारभेटर र केही ट्रिपर तथा ट्रयाक्टर इटहरी ४ र सुन्दरहरैंचा ५ को सीमा क्षेत्रको खोलामा पसेका थिए ।
नजिकै रहेको नयाँ वृन्दावन गौशालाका संरक्षक संस्थापक दीनबन्धु शास्त्रीजीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएपछि ती साधन फिर्ता गएका थिए ।
‘आश्रम छेउबाट पटक पटक यसरी अनियन्त्रित तरिकाले ढुंगा गिटी उत्खनन गर्ने काम भइरहेको छ,’ शास्त्री भन्छन्, ‘बारम्बार आफै छुचो बनेर प्रतिवादमा उत्रिनुपरेको छ ।’ उनकाअनुसार केही समयअघि यस्तै उत्खनन गर्न खोज्नेलाई रोक्न खोज्दा ज्यान मार्ने धम्कीसमेत आएको थियो ।
झोलुंगे पुलको पाँच सयदेखि एक किलोमिटर तल माथि ढुंगागिटी निकाल्न नपाइने नियममा उल्लेख छ । यस्तै वस्तीबाट दुई किलोमिटरको क्षेत्र भित्र उत्खनन गर्न पाइँदैन । तर उक्त ठाउँमा भने एकातिर घना वस्तीसमेत छ भने अर्कोतिर झोलुंगे पुलसमेत रहेको छ ।
उक्त खोलाको विभिन्न स्थानबाट अहिले पनि उत्खनन भइरहेको छ । सुनसरी र मोरंगका स्थानीय तहले स्थान तोकेर ठेक्का लाएर उत्खनन गराइरहेका हुन् । तर बेला बेलामा स्कारभेटर जथाभावि खोलामा पसेर ढुंगा गिटी बालुवा लाने गरेका छन् । यस्तो कार्यले वरपरका संरचना तथा वस्तीमा डुबान तथा कटानको त्रास बढाउने गरेको छ ।