इटहरीको फुजिसान स्कुलमा विद्यार्थीले चलाए ‘संसद’

न्युजलय १८ भदौ २०८३, बिहिबार ०२:४८ मा प्रकाशित

इटहरी । इटहरीस्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलले विद्यार्थीहरुलाई ‘संघीय नमुना संसद’ अभ्यास गराएको छ । विद्यार्थीलाई व्यवहारिक, सिर्जनात्मक तथा प्रविधिमैत्री सिकाइतर्फ अघि बढाउने उद्देश्यसहित इटहरीमै पहिलोपटक यस्तो अभ्यास गरिएको स्कुलले जनाएको छ । 


विद्यार्थीले संघीय संसदको कार्यप्रणाली, संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास, बहस तथा निर्णय प्रक्रियाबारे अभ्यास गर्दै प्रत्यक्ष अनुभव गरेका थिए । नमुना संसद अभ्यासमा विद्यार्थीहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, सचेतक, सत्तापक्ष तथा प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए। उनीहरूले संसदमा जस्तै विभिन्न समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुका साथै प्रश्नोत्तर, बहस र छलफलमा सहभागी भएका थिए।


मन्त्रीको भूमिका निर्वाह गरेका विद्यार्थीहरूले सत्तापक्ष तथा प्रतिपक्षबाट उठाइएका प्रश्नको जवाफ दिएका थिए भने विद्यार्थी सांसदहरूले आफ्ना दल तथा पक्षका तर्फबाट विषयवस्तुमाथि धारणा राखेका थिए । यस क्रममा विद्यार्थीले प्रश्न सोध्ने, जवाफ दिने, आफ्ना विचार प्रस्तुत गर्ने, अरूको विचार सुन्ने र तर्कका आधारमा विषयलाई निष्कर्षमा पुर्‍याउने अभ्यास गरेका थिए । यस्तो अभ्यासले विद्यार्थीमा नेतृत्व क्षमता, वक्तृत्वकला, तार्किक क्षमता, निर्णय क्षमता, अनुशासन तथा समसामयिक विषयमा आफ्नो धारणा राख्ने सीप विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ ।


कार्यक्रममा सहभागि कोशी प्रदेशका सांसद तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कार्यक्रमले बालबालिकामा राजनीतिक चेतना र लोकतान्त्रिक संस्कारको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यार्थीहरुको प्रस्तुतीको प्रसंसासमेत गरे । विद्यार्थीले सानै उमेरदेखि बहस, छलफल, प्रश्नोत्तर र निर्णय प्रक्रियाको अभ्यास गर्न पाउँदा उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमता बढ्ने उनको भनाइ थियो।


कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले विद्यालयले व्यवहारिक शिक्षाका लागि गरेको गतिविधिको सह्राना गरे ।


विद्यालयका प्रिन्सिपल राकेश श्रेष्ठले फुजिसानले विद्यार्थीको रुचि, क्षमता र सिर्जनशीलतालाई केन्द्रमा राखेर शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । किताबमा पढेको विषयलाई व्यवहारमा प्रयोग गराएर प्रविधिको प्रयोगसँगै व्यवहारिक र सिर्जनात्मक एवं विज्ञानमैत्री सिकाइ गराइरहेको उनले जानकारी दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठले विद्यार्थीको सिकाइलाई व्यवहारसँग जोड्ने गरी विद्यालयले शिक्षा दिइरहेको जानकारी दिए ।