मुख्यमन्त्रीलाई कर्मचारीले भने, ‘तपाइहरु यो जुनीमा खरदार वा सुब्बा बन्न सक्नुहुन्न’

न्युजलय २५ माघ २०८०, बिहिबार १२:१८ मा प्रकाशित

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कक्षा कोठाको विषयलाई लिएर दिएको अभिव्यक्तिको सर्वत्र विरोध भएको छ । उनले कक्षाको पहिलो बेन्चमा बस्नेहरु खरदार बनेर भुँडी भरेको र अन्तीम बेन्चमा बस्ने आफू मन्त्री बनेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर कर्मचारी, विद्यार्थीदेखि बौद्धिक वर्गले तीव्र आलोचना गरेको छ ।


सोही क्रममा नेपाल निजामती कर्मचारी सङ्गठनले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मुख्यमन्त्रीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको आरोप लगाएको छ ।


सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनको अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक क्षेत्रलाई दुखित बनाएको भनिएको छ।


 ‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ, विज्ञप्तिमा भनिएको छ, योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ ।’


मुख्यमन्त्रीले व्यक्त गरेको विचार आफैँमा अपरिपक्व उन्मादपूर्ण कोरा अभिव्यक्ति भएको भन्दै निजामती कर्मचारी सङ्गठनले यस्तो नीच भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। 


 ‘कलिला स्कुले बालबालिकालाई अगाडी राखेर मुख्यमन्त्री ज्यूले दिनु भएको यस्तो अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ होला, अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरू खरदार मात्रै हुन्छन् पछिल्ला बेन्चमा बसेर लखुवागिरी गर्नेहरू मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ ? कर्मचारी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राजनीति गर्ने सबै व्यक्ति ब्याक बेन्च भएर लखुवा भै हिड्नेहरु मात्रै हुन् ?’


विज्ञप्तीमार्फत् कर्मचारीले चुनौतिसमेत दिएका छन् । विज्ञप्तीमा लेखिएको छ, ‘एउटा खरदार र सुब्बा वा जुनसुकै तहको राष्ट्रसेवक मेहनत साथ लागेमा तपाईहरू जस्तो मन्त्री मुख्यमन्त्री बन्न सक्छन्, तर तपाईहरू यो जुनीमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक बन्न सक्नुहुन्न ।’