धरान । नेकपा एमाले सुनसरीको विवाद समाधान हुने भएको छ ।
महाधिवेशन नजिकिदै गएपछि दुई दिनयता एमालेका केन्द्रीय नेताहरुबीच निरन्तर छलफल भएको थियो । उक्त छलफलमभा सहमति जुटेको र बुधबार (भोली) इनरुवामा दुवै कमिटीको संयुक्त बैठक बस्ने तयारी भएको संस्थापन पक्षको जिल्ला कमिटी प्रचार विभागले जनाएको छ ।
पार्टी सचिव एवं १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्यसहित केन्द्रीय सदस्यहरुबीचको बैठकले विवाद समाधान गर्दै संयुक्त बैठक राख्ने सहमति गरेको हो । केन्द्रीय सदस्य जगदीश कुसियैतका अनुसार भोली हुने बैठकमा दुई वटा कमिटीका दुवै अध्यक्षलाई बैठकको अध्यक्षता नगराउने र विकल्पमा जाने सहमति भएको छ ।
पार्टी सचिव एवं प्रदेश इञ्चार्ज आचार्यको प्रमुख आतिथ्यमा हुने बैठकमा केन्द्रीय कमिटीका नेताहरुमध्ये कोही एक जनाले अध्यक्षता गर्ने उनले बताए । ‘
नेता कुसियैतका अनुसार तेस्रो व्यक्तिको नाममा पनि सहमति भइसकेको तर सार्वजनिक गर्न नमिल्ने बताए । उनका अनुसार एक जना अध्यक्ष, २ जना उपाध्यक्ष, २ जना सचिव र १ जना उपसचिव रहेको आयोजक कमिटी बन्नेछ ।
सुनसरीमा जेठ २ अघिको कमिटी पक्षको अध्यक्षमा रमेश बस्नेत छन् भने संस्थापन पक्षले गठन गरेको जिल्ला कमिटी रेवतीरमण भण्डारीको अध्यक्षतामा रहेको छ ।
दुवैले आफुलाई आधिकारिक दाबी गर्दै आएका छन् । पार्टीले नेता सुवास नेम्बाङ संयोजक रहेको कार्यदललाई विवाद समाधान गर्ने जिम्मा दिए पनि सुनसरीको विवाद मिल्न सकेको थिएन ।