धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी शिक्षक, कर्मचारीहरुको आन्दोलन टुंगिएको छ । व्यवस्थापन पक्ष, शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज संयुक्त संघर्ष समितिबीच शनिबार ६ बुदे सहमति भएसँगै आन्दोलन टुंगिएको हो ।
भद्र अवज्ञा आन्दोलनको २७ औं दिनमा सहमती भएको हो । आन्दोलनको दबाब अनि अदालतको आदेशपछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेको थियो । जसले गरेका केही निर्णयहरुका आधारमा सहमती भएको हो ।
२०७९ पुस २० गते र माघ २५ गते प्रकाशित विज्ञापनअनुसार सुरु भएको बढुवाको प्रक्रिया रोकिएकोमा फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र सो को नतिजा अन्तर्वार्ता समाप्त भएको मितिले एक साता भित्र प्रकाशित गर्ने सहमति भएको छ ।
सहमतिपत्रमा कामु उपकुलपति प्राडा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले हस्ताक्षर गरेका छन् ।
माघ २९ गते वीपी प्रतिष्ठानको संचालक परिषद (सिनेट)को बैठक तोकिएको छ । सहमतीपछि रजिष्ट्रार प्राडा संग्रौलाले बढुवाको अन्तर्वार्ताको तालिका फागुन ६ गते प्रकाशन गर्न दिइसकेको बताए ।
वीपी प्रतिष्ठानमा कुल दरबन्दी ३ हजार ३ सय १९ रहेको छ । ती मध्ये १ हजार ५ सय ३ पद रिक्त रहेको छ । ती मध्ये ७ सय ६६ जना कर्मचारी र शिक्षक चिकित्सकको बढुवा रोकिएको थियो ।