टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः मलेसियामाथि नेपालको फराकिलो जित

न्युजलय १९ चैत २०७८, शनिवार १०:०० मा प्रकाशित

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल तयार पारेको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नटआउट शतक प्रहार गरे। ५७ बलको सामना गरेका उनले १० चौका र ६ छक्काको मद्दतमा ११० रन बनाए। यस्तै रोहित पौडेलले अर्धशतक बनाए। ३४ बलमा ५१ रन जोडेका उनले पाँच चौका हिर्काए। यस्तै आशिफ शेखले १८, मोहम्मद आदिल आलमले १४ र कुशल भुर्तेलले १२ रन जोडे।

बलिङतर्फ मलेसियाका मुहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इदरुस र मुहम्मद अमिरले एक–एक विकेट लिए।

नेपालसँग पराजित भएसँगै मलेसिया सिरिजबाट बाहिरिएको छ भने पपुवा न्यु गिनीले नेट रनरेटका आधारमा फाइनलमा स्थान बनाएको छ। लिग चरणका चारै खेल जितेको नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो। अब नेपाल र पीएनजीबीच उपाधि भिडन्त हुनेछ।